"क्लोज क्याम्पमा गुरुकुल विद्यार्थीहरूको अनुभव"




घोराहीकी लक्ष्मी डाँगी कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । हप्ता केही दिनयता उहाँ अध्ययनरत विद्यालय गुरुकुल एकेडेमी, घोराहीले सञ्चालन गरेको घोराही १९ को सैघास्थित पटिन्जा डाँडामा क्लोज क्याम्पमा हुनुहुन्छ ।


उहाँ अध्ययनरत विद्यालय गुरुकुल एकेडेमीले क्लोज क्याम्पका रुपमा विद्यार्थीलाई जीवन र समाज बुझाउने व्यवहारिक शिक्षा दिन भन्दै हरेक वर्ष दुर्गम बस्तीमा लैजाने गरेको छ । यो पटक कक्षा ६ का विद्यार्थीलाई पनि विद्यार्थीदेखि पर लगेर ४ दिने क्याम्पमा राखेको छ । जहाँ विद्यार्थी ४ दिन विद्यालयको कक्षादेखि टाढा गएर दुर्गम बस्तीमा पुगेर बाँच्नका लागि चाहिने संघर्ष गर्छन् र जीवन र समाजलाई नजिकबाट नियाल्ने चेष्टा गरिरहेका छन् ।


जसमध्येकी एक हुनुहुन्छ लक्ष्मी डाँगी । क्लोज क्याम्पबाट लक्ष्मीलाई मानिसले दैनिक जीवनमा गर्नुपर्ने धेरै काम गर्नु परिरहेको छ । सैद्धान्तिक शिक्षा र व्यवहारिक शिक्षा कस्तो हुने रहेछ भन्ने बोध गरिरहनु भएको छ । यद्यपि, उहाँलाई घरमा हुँदा कहिल्यै दुःख गर्न परेन । घोराही १९ सैघास्थित बालहीत प्रावि कटिन्जामा उहाँलाई चार दिनको बसाइबाट जीवनमा नौलो कुरा अनुभूति भइरहेको छ ।


‘घरमा हुँदा कहिल्यै पानी भरिन तर यहाँ आएपछि पानीको महत्व र अवस्थाका बारेमा बुझ्ने मौका पाएको छु’ उहाँले भन्नुभयो ‘यहाँ आएर आफैले सबै काम गर्नुपर्छ ।’ घरमै हुँदा केही काम गर्न नपर्ने तर यहाँ आइपुगेपछि उहाँले दैनिक जीवनमा गर्नुपर्ने सबै काम आफै गर्न सिक्नुभएको छ । जीवनमा आइपर्ने तर विद्यालयको कक्षाकोठाभित्र सिक्न नसकिने कुरा अहिले उहाँ क्लोज क्याम्पको यो चार दिने अभियानमा धेरै कुरा जान्ने बुझ्ने र सिक्ने अवसर पाउनुभएको छ ।


गुरुकुलको कक्षा ६ मा अध्ययनरत सक्षम डाँगी पनि केही दिनयता आफ्ना समकक्षीसँग क्लोज क्याम्पमा हुनुहुन्छ । यो तीन दिन उहाँका लागि अर्थपूर्ण रहेको छ । क्लोज क्याम्पको बसाइँ दुर्गम र ग्रामीण क्षेत्रमा गरिने हुँदा उहाँका लागि यो बसाइँ निकै महत्वपूर्ण भएको छ । सुलभ गिरीले क्लोज क्याम्पको बसाई दुर्गम क्षेत्रमा बाँच्नका लागि गर्नुपर्ने तरीका सिक्ने मौका पाउनुभएको छ । शहरको सम्पन्नता भन्दा टाढा रहेर अभावमा पनि कसरी बाँच्न सकिन्छ भन्ने कुरा उहाँले सिक्नुभएको छ ।


अर्कोतिर त्यहाँ रहँदा उहाँले शहरको सम्पन्नता र दुर्गममा गाउँको विपन्नताबारे धेरै कुरा नजिकबाट नियाल्ने मौका पाउनुभएको छ । जुन कुरा सायदै विद्यालयको पाठ्यक्रमले सिकाउने थिएन । ‘शहरमा जुन सुविधा छ, गाउँमा त्यो रहेनछ । यहाँ पानी लिन पनि धेरै टाढा जानुपर्ने रहेछ । दाउरा खोज्न जंगलमा जाँदा गाह्रो हुने रहेछ । ग्रामीण जीवन धेरै दुख रहेछ । विकासको पखाईमा गाउँका जनता छन्’ विद्यार्थी सुलभले भन्नुभयो ‘यहाँ बस्दा गाउँ र शहरबीच धेरै भिन्नता देखें । जुन शब्दमा भनि साध्य छैन ।’

क्लोज क्याम्पमा रहनुभएकी अर्की छात्रा सुनामी न्यौपानेलाई हरेक दिन बिहान टाढाबाट पानी आफू बसेको क्यापसम्म ल्यानपर्छ । ‘घरमा हुँदा घरमै पानी आउँथ्यो’ उहाँले भन्नुभयो ‘गाउँमा पानीका लागि पनि धेरै दुःख गर्नु पर्दोरहेछ बुझ्ने मौका मिलेको छ । यहाँ त सबै कुरा पाउन दुख नगरी सुख छैन ।’ घरमा काम नगरेकी सुनामी उहाँ अहिले साथीहरुसँग वनमा गएर दाउरा खोज्नुहुन्छ र बोकेर ल्याएको पानी फिल्टर गर्नुहुन्छ ।


‘यहाँ आएर पानी बोक्न र दुना टपरी गास्न सिके कपडा सिलाउनेदेखि आफ्नो स्याहार कसरी गर्ने भन्ने कुरा सिक्ने मौका पाएको छु ’ उहाँले भन्नुभयो ‘घरमा भएको भए सायद यो कुरा सिक्ने थिएन । यो अवसरले मलाई जीवनको अर्थ सिकाएको छ । वर्षभरी पढ्ने कुरा केही दिनमै सिकाएको छ । यो मैले जीवनभर भुल्ने छैन । यसले हामीलाई जीवन सिकाएको छ, अनुशासन सिकाएको छ । राम्रो शिक्षा दिएको छ ।’ यी कुराहरु अहिलेसम्म उहाँले गर्न पाउनुभएको थिएन ।


‘जीवनमा बाँच्दा गर्नुपर्ने दुःखबारे सुनेकी थिएँ, तर आफैलाई पर्दा त्यो कुरा बुझ्न पाएँ’ उहाँले भन्नुभयो । त्यसमाथि उहाँले ग्रामीण जीवनमा भोग्नुपर्ने समस्यालाई नजिकबाट बुझ्ने मौका पाउनुभएको छ । सोही कक्षामा अध्ययनरत मानुसी पोख्रेलका लागि पनि यो अवसर निकै नौलो भएको छ । गाउँका मानिस कति दुखका साथ बसेका छन् भन्ने बुझ्न पाउनुभएको छ ।


राज्यको उपस्थिती गाउँबस्ती र दूरदराजमा कस्तो रहेछ भन्ने कुरा आफ्नै आँखाले देख्दा भावुक भएको उहाँ बताउनुहुन्छ । ‘शहरमा त सब थोक छ । केही कुराको दुख गर्नुपर्दैन । तर यहाँ त जे कुरामा पनि दुख रहेछ’, उहाँले भन्नुभयो ‘नेताहरुले यो गर्छौँ त्यो गर्छौँ भनेर नारा लगाउने तर काम नगर्ने रहेछन् । यहाँ आएर गाउँका मानिसको जीवन देखेर निकै दुख लाग्यो ।’


रवि लामिछानेलाई पनि आफ्ना सहपाठीले देखेको र भोगेको जस्तै अनुभव भएको छ । अहिलेसम्म कक्षा कोठामा बसेर पढेको र क्लोज क्याम्पमा आएर चार दिनको बसाईबाट सिकेको कुरामा धेरै अन्तर पाउनुभएको छ । घोराही १५ स्थित गुरुकुल एकेडेमीले हरेक वर्ष विद्यार्थीहरुलाई जीवन बुझाउन र समाजसँग घुलमिल गराउन दुर्गम बस्तीमा लगेर क्लोज क्याम्प गराउँछ ।

व्यवहारिक शिक्षा दिने उद्देश्यले हरेक वर्ष नौ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई पहाडी क्षेत्रको दुर्गम बस्तीमा लगेर आठ दिन बसाउँछ । र, समुदाय केन्द्रित रहेर जीवन व्यवहारिक शिक्षा सिकाइन्छ व्यवहारिक रुपमा । कक्षा दुईमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै दुई दिने क्लोज क्याम्प गराउँछ । यो वर्षबाट कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीलाई पनि चार दिने क्लोज क्याम्पमा लैजान शुरु गरेको छ । क्लोज क्याम्पमा बस्दा आफूले भोगेका अनुभूतिहरु सोमबार पत्रकारहरुमा उनीहरुले सुनाए । कक्षाकोठा र पाठ्यक्रममा केन्द्रित हुने शिक्षाभन्दा व्यवहारिक जीवनमा पाउने शिक्षा पाएको उनीहरुको भनाई थियो ।


कुल ५२ जना विद्यार्थीमध्ये ३९ जना क्लोज क्याम्पमा बसेका छन् । जीवनको अर्थ सिकाउन, समाज चिनाउन र भविष्यका बारेमा बोध गराउन क्लोज क्याम्प निकै प्रभावकारी मानिएको विद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसीले बताउनुभयो । समाजको चित्रलाई आफ्नै आँखाले देखेर, भोगेर जीवनमा उतार्दा कस्तो हुने रहेछ भन्ने कुराको बोध गराउनु नै क्लोज क्याम्पको उद्देश्य रहेको उहाँको भनाई छ ।


विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले क्लोज क्याम्प जस्ता समुदाय केन्द्रित शिक्षण सिकाइले व्यवहारिक शिक्षा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘यस्तो शिक्षाले बालबालिकाहरुले समाज र जीवनलाई प्रत्यक्ष बुझ्न पाउँछन्’ उहाँले भन्नुभयो ‘समाजसँग घुलमिल हुँदा पाठ्यक्रममा समावेश गरिएको कुरा भन्दा धेरै कुरा जीवनमा सिक्न पाउँछन् । यसले पठनपाठनमा टेवा पुग्न छ नै त्यो भन्दा अझ विद्यार्थीले समाजको अवस्थाका बारेमा बुझ्ने मौका पाउँछन् ।’


‘कक्षाकोठामा भन्दा बाहिर पनि जीवन छ भन्ने शिक्षा गुरुकुलले दिन खोजिरहेको छ’ उहाँले भन्नुभयो ‘गुरुकुलले गरेको व्यवहारिक शिक्षाको अभ्यासलाई अरुले पनि अनुशरण गर्न सके राम्रो हुन्छ ।’ विद्यालयका सहायक प्रधानाध्यापक गिरीले विद्यार्थी नेपाली समाजको सामाजिक चित्रण गराउन वर्षेनि क्लोज क्याम्प जस्ता समुदाय केन्द्रित कार्यक्रम गर्दै आएको बताउनुभयो ।


‘क्लोज क्याम्पमा विद्यार्थीले जीवनमा चाहिने दैनिक कामहरु आफै गर्न सिक्छन्’ उहाँले भन्नुभयो ‘गाउँ बस्तीमा पुगेर दुःख र अभाव जस्ता कुराहरु बुझन् पाउँछन् ।’ विद्यार्थीको क्लोज क्याम्पमा विद्यालयका शिक्षक, कर्मचारीलगायत साथ मै रहनुभएको छ । खुला चौरमा टेन्ट बनाएर समुहमा बसेर सिकाई अनुभव लिईरहेका विद्यार्थीले हरेक दिनको सिकाईलाई डायरीमा उतार्ने गरेका छन् ।

Copyright goes to respective owners.

Disclaimer: This is for educational purpose only. copyright disclaimer under section 107 of the copyright act 1976 allowance is for "fair use" for purposes such as criticism commentnewsreporting teaching scholarship and research.Fair use is use permitted by copy right statute that might otherwise be infringing. Non profit educational or personal use tips the balance in favour of fair use.